नेपाली कांग्रेसले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा सहयोग गर्न सर्कूलर गरेको छ । वैशाखमा हुने मद्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले गर्न लागेको मतदाता नामावली अद्यावधिक कार्यमा सहयोग गर्न सम्पूर्ण जिल्ला कार्यसमितिलाई सर्कूलर गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित सर्कूलर पत्रमा माघ १५ देखि २१ गतेसम्म आयोगले सञ्चालन गर्ने अद्यावधिक कार्यक्रममा सहयोग गर्न निर्देशन दिएको हो ।
पत्रमा पुस १७ गते निर्वाचन आयोगको पत्रअनुसार पुस ५ गतेसम्म मतदाता नामावली नाम संकलन भई १८ वर्ष पूरा भएका व्यक्तिहरूको नाम अद्यावधिक गरिने जनाइएको छ । सोही अनुरूप जिल्ला कमिटी मातहत रहेका सबै पार्टीगत निकायमा यथाशक्य चाँडो सूचना प्रवाह गर्न भनिएको छ ।
प्रतिनिधि सभा विघटनका विरुद्धमा आन्दोलनका कार्यक्रम घोषणा गरेको कांग्रेसले मध्यावधि निर्वाचनमा भाग लिने तयारी स्वरूप नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पत्राचार गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।
