सर्वदलीय सरकार बनाएर एक वर्षभित्र चुनाव गर्ने डा. भट्टराईको प्रस्ताव

राम्रो अनलाइन     २९ वैशाख २०७८, बुधबार
सर्वदलीय सरकार बनाएर एक वर्षभित्र चुनाव गर्ने डा. भट्टराईको प्रस्ताव

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउने प्रस्ताव अगाडि सारेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले यस्तो प्रस्ताव अघि सारेका हुन् । यो सरकार संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने भट्टराईको भनाइ छ। 
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिन सकेका थिएनन् । यससँगै ओलीको प्रधानमन्त्री पद स्वतः गएको थियो।

कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै पटकपटक प्रधानमन्त्री भइसकेका छन् ।

भट्टराई पनि यसअघि नै प्रधानमन्त्री भइसकेका छन् । उनले ओली, देउवा, प्रचण्ड र आफूसमेत प्रधानमन्त्री नहुने गरी नयाँ विकल्प खोज्नुपर्ने प्रस्ताव अगाडि सारेका छन्। 

देशमा देखिएको संकट सबै दलको सहभागितामा बन्ने सरकारले मात्रै हल गर्न सक्ने उनको भनाइ छ । साथै दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाएर जान सकिने उनको भनाइ छ ।

भट्टराईले कोभिड रोकथाम तथा नियन्त्रण र संविधान संशोधनलगायत मुद्दासमेत प्राथमिकतामा राखेर हल गरिनुपर्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया