काठमाडौंका सरकारी अस्पतालमा कोभिडका बिरामी मात्र उपचार गरिने

राम्रो अनलाइन     २८ वैशाख २०७८, मङ्गलबार
काठमाडौंका सरकारी अस्पतालमा कोभिडका बिरामी मात्र उपचार गरिने

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालको बेडमा कोरोना संक्रमितको उपचार गर्ने नीतिगत निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले काठमाडौंका सबै अस्पतालमा शत प्रतिशत बेडमा कोभिड–१९ का बिरामी राखेर उपचार गर्ने नीतिगत निर्णय भएको जानकारी दिए ।

त्यस्तै उनले निजी अस्पाललाई पनि आफ्नो क्षमताको दुई तिहाइ शय्या कोभिड–१९ को बिरामीका लागि छुट्याउन आग्रह गरिएको उनले बताए ।

अक्सिजनको आपूर्ति मागको आधा

सचिव अर्यालका अनुसार हाल दैनिक १५ हजार सिलिन्डरसम्म अक्सिजन आवश्यक परेको बताए । तर अक्सिजन उद्योगले दिनमा ८ हजार सिलिन्डर मात्र रिफिल गर्न सक्ने उनले जानकारी दिए । अस्पतालहरुको प्लान्टबाट दिनमा दुई हजार सिलिन्डर आपूर्ति भइरहेको उनको भनाइ छ ।

अक्सिजनको आवश्यकता पूरा गर्न तत्काल आयात गर्नुको विकल्प नभएको पनि सचिव अर्यालले बताए । ‘हामीले तत्काल अक्सिजनको उत्पादन र आया बढाउनुपर्छ, लिक्विड अक्सिजनको प्रयोग गर्नुपर्छ’ उनले भने ।

चीनबाट एयर लिफ्ट गरेर २००० अक्सिजन सिलिन्डर ल्याउने र १० वटा लिक्वीड अक्सिजन खरिदका लागि बोलपत्र आह्वान भइसकेको पनि सचिव अर्यालले बताए ।
अक्सिजन आयात गर्नेका लागि सरकारले भन्सार छुट गरेको पनि उनले बताए ।

प्रतिक्रिया