राजीनामाबारे निर्णय लिन खनाल नेपाल समूहका सांसदहरु छलफलमा 

राम्रो अनलाइन     २७ वैशाख २०७८, सोमबार
राजीनामाबारे निर्णय लिन खनाल नेपाल समूहका सांसदहरु छलफलमा 

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल माधवकुमार नेपाल समूह पार्टीको संस्थापन पक्षले कुनै रेस्पोन्स नगरेपछि राजीनामाबारे निर्णय लिन छलफलमा जुटेका छन् । खनाल नेपाल पक्षका सांसदहरु अहिले राजीनामाबारे छलफल गर्न संघीय संसद सचिवालय सिंहदरबारमा छलफलमा जुटेका हुन् । 

समूह्ले हिजो साँझ पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई अल्टिमेटम दिएको थियो । आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि उनलाई अल्टिमेटम दिने निर्णय गरेको थियो । 

ओलीले सोमबार बिहान ९ बजेसम्म गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्न भनेको थियो । तर त्यो समयमा ओलीबाट कुनै प्रतिबद्धता नआएपछि खनाल नेपाल समूह छलफलमा जुटेको हो । 

प्रधानमन्त्री  ओलीले प्रतिनिधिसभामा विश्वास मत लिनुअघि उनीहरु एउटा निर्णयमा पुग्ने पक्षमा देखिन्छन् । विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ । यसका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ ।

संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।

त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ । आजै पुनः प्रतिनिसभा अर्को बैठक बस्ने र  विश्वासको मत उपर कारबाही प्रक्रिया अघि बढ्नेछ । 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागे पनि त्यसका लागि आवश्यक संख्या भने पुगेको छैन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र माओवादी केन्द्रले विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय लिइसकेको अवस्था छ ।

यता जनता समाजवादी पार्टीले विश्वासको मतका सन्दर्भमा पक्ष विपक्षमा मतदान गर्न सांसदलाई स्वतन्त्र छोडेको छ । तर अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताइसकेका छन् भने अध्यक्ष महन्थ ठाकुर पक्षले तटस्थ बस्ने नीति लिएको छ ।

जसले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने करिब निश्चित जस्तै छ । 

प्रतिक्रिया