लुम्बिनी प्रदेश प्रमुखको निर्णय संविधानको बर्खिलापमा : खाण

राम्रो अनलाइन     १९ वैशाख २०७८, आइतबार
लुम्बिनी प्रदेश प्रमुखको निर्णय संविधानको बर्खिलापमा : खाण

काठमाडौँ : नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले संविधानका बर्खिपालमा लोकतन्त्रको उपहास हुने काम गरेको बताएका छन् ।

लुम्बिनी प्रदेशमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरविपरीत एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेर संसदीय पद्धतीविपरीत काम गरेको बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदले गरेको हस्ताक्षरविपरीत पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुख साहले दिउँसै रात पारेको बताए ।

‘लुम्बिनीमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले बहुमत गुमाएका एमाले नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका छन् । बिहानमात्रै राजीनामा दिएका पोखरेलको विरुद्धमा ८१ सदस्यीय लुम्बिनी प्रदेश सभाका ४२ सांसदले हस्ताक्षर बुझाउँदा पनि पोखरेललाई नै मुख्यमन्त्रीमा नियुक्त गर्नु लोकतन्त्रको उपहास हो,’ खाणले भने, ‘संविधानको बर्खिलाप हो । दिउँसै रात पार्ने संविधान र कानुनविपरीत काम भएको छ ।’

खाणले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रदेश प्रमुख साहले संविधानमा उल्लेखित व्यवस्थाविपरीत अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाए ।

‘केपी शर्मा ओलीले प्रधानमन्त्री भएको दिनदेखि नै संविधान, विधि र पद्धतीविपरीत काम गर्दै आएका हुन् । अहिले पनि उनले नियुक्त गरेका प्रदेश प्रमुखले संसदीय पद्धतीविपरीत संविधान र कानुनको बर्खिलापमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका छन्,’ खाणले भने ।


प्रदेश प्रमुखको विधिविपरीतको कामविरुद्ध कांग्रेसले सकेसम्म विरोध गर्ने बताए । खाण कांग्रेसका लुम्बिनी प्रदेशका नेता हुन् । 

प्रतिक्रिया