काठमाडौँ । गण्डकी प्रदेशका ३ जना सांसद र एक जना कर्मचारी कोरोना संक्रमण भएको छ । एमालेका राजिव पहारी र प्रभा कोइराला र कांग्रेसका मनकुमारी गुरुङलाई कोभिड १९ संक्रमण भएको हो ।
प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन मंगलबार सत्तारुढ एमालेले सांसदको पीसीआर परीक्षण गर्न माग गर्दै संसद अवरोध गरेपछि मंगलबार नै उनीहरुको स्वाब लिएको थियो ।
स्वाब परीक्षण गर्दा ३ जना सांसदको रिपोर्ट पाजेटिभ आएको तर नाम भन्न नमिल्ने प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । रिपोर्ट पोजेटिभ आएको सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बस्न सुझाव दिएको शर्माले बताए।
मंगलबार सदन अवरोध भएपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकालाई बोल्न नदिने तर मतदान गर्न दिने सहमति गरेको थियो । सहमति अनुसार नै संसद अघि बढ्ने सभामुख नेत्रनाथ अधिकारीले बताए।
सभामुख अधिकारीले पनि ३ जना सांसदलाई कोभिड संक्रमण भएको जानकारी आफुले पाएको भन्दै संक्रमितलाई मतदान गर्न छुट्टै व्यवस्था मिलाउने बताए । अविश्वास प्रस्ताव माथि मतदान कहिले गर्ने टुङ्गो लागेको छैन ।