प्रविधिको प्रयोग गर्न चिकित्सक र अस्पताललाई प्रधानमन्त्री मोदीको आग्रह

एजेन्सी     १२ वैशाख २०७८, आइतबार
प्रविधिको प्रयोग गर्न चिकित्सक र अस्पताललाई प्रधानमन्त्री मोदीको आग्रह

नयाँ दिल्ली, १२ वैशाख (एएनआई) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पताललाई आग्रह गरेका छन् ।  

“मन की बात” नामक रेडियो कार्यक्रमको ७६औँ शृङ्खलामा बोल्ने क्रममा उनले स्वास्थ्यकर्मीले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोनाभाइरस विरुद्धको लडाईं प्रभावकारी हुने बताए । 

प्रविधिको प्रयोग गरेर विशेषगरी कोरोनाभाइरससम्बन्धी सल्लाह दिने, सेवा सुविधाका बारेमा बताउने, सचेतना जगाउने लगायतका कार्य गर्नु उपयुक्त हुने उनको भनाइ थियो । 

“स्वास्थ्यकर्मी नै कोरोनाभाइरस विरुद्धको अग्रपङ्क्तिका लडाका हुन्, उनीहरुले नै यसमा धेरै खट्नु र सहयोग गर्नुपर्दछ,” उनले भनेका छन् । 

स्वास्थ्यकर्मीका विभिन्न अनुभव अहिले सबैका लागि उपयोगी हुने प्रधानमन्त्री मोदीले बताए ।

विज्ञको सुझाव, सल्लाह यतिबेला अति महत्वपूर्ण हुने भएकाले प्रविधिमार्फत आफ्नो ज्ञान बाँडिरहनु पर्नेमा उनले जोड दिए । 

कोरोनाभाइरसबाट धेरै प्रभावित भएको भारतमा अहिले दैनिक झण्डै साढे तीन लाख मानिस सङ्क्रमित हुने गरेका छन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४९ हजार ६९१ जना सङ्क्रमित भएका छन् । 

यसैगरी सोही अवधिमा भारतभरी गरेर कुल दुई हजार ७६७ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ । 
 

प्रतिक्रिया