सरकारको सय दिने प्रगति विवरण सार्वजनिक हुँदै

राम्रो अनलाइन     ०७ कात्तिक २०८१, बुधबार
सरकारको सय दिने प्रगति विवरण सार्वजनिक हुँदै

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगति विवरण आज सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन्। 

सरकारको १०० दिने प्रगति विवरण सार्वजनिक गर्नु अघि प्रधानमन्त्री ओलीले वालुवाटारमा सत्तारुढ दलको बैठक आह्वान गरेका छन् । बैठक विहान ९ बजेको लागि बोलाइएको प्रधानमन्त्रीका समाचार संयोजक प्रकाश शिलवालले जानकारी दिए।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ । एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली कांग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका हुन् । राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

ओली सरकारका सबै मन्त्रीले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेकाे छ।  चौथो कार्यकालका लागि ओली प्रधानमन्त्री भएपछि भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्रीसँग भएको मन्त्रीहरूको सम्झौतामा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिलाई प्राथमिकतामा राखिएको थियो । त्यसैगरी मन्त्री र सचिव तथा प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबिच पनि कार्यसम्पादन सम्झौता भएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गरिने कार्यसम्पादन सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया