काठमाडाैं – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयकोको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम गर्न सकेको बताएका हुन् ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानहरूले पाउनुपर्ने रकमको उपलब्ध गराउने सहितका काम गरेको बताएका हुन् ।
नीतिगत सुधारका केही कामहरू पनि थालनी गरेका बताउनुहुँदै मन्त्री अधिकारीले भने, ‘आगामी दिनमा साङ्गठनिक र नीतिगत सुधारमै ध्यान केन्द्रित गरिनेछ ।’ कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहज मल, बीउ र बजारको उपलब्धता, कृषि पेसामा युवालाई आकर्षण गराउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले सय दिनमा ४४ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।