काठमाडौं, २ वैशाख : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले आज (बिहीबार) मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् ।
राष्ट्रिय जनमोर्चा (राजमो) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै गण्डकी सरकार ढल्ने निश्चित भएसँगै प्रतिपक्ष दलहरूले सरकार गठनको कसरत गरेका हुन् ।
राजमो केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी सरकारविरुद्ध ल्याउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएपछि मोर्चाबन्दी बनाएका पार्टी अविश्वास प्रस्ताव दर्ताको तयारीमा लागेका हुन् । तीनवटै पार्टीले आफ्ना सांसदलाई पोखरा बोलाएका छन् । प्रदेशसभाका कुल सांसदमध्ये १ चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरे पनि अविश्वास प्रसताव दर्ता हुन्छ । तर सकभर सबैजनाको हस्ताक्षर भएमा राम्रो हुने भन्दै सांसदलाई बोलाइएको हो ।
गण्डकीमा मुख्यमन्त्री कांग्रेसले पाउने पक्का भएको छ । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा मंगलबार छलफल भएर टुंगिएको हो । ‘गण्डकीमा मुख्यमन्त्रीमा कांग्रेसलाई समर्थन गर्ने निर्णय भइसकेको छ’ माओवादी केन्द्र संसदीय दल नेता हरिबहादुर चुमानले भने, ‘कांग्रेस संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बिहीबारै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता तयारीमा छौं ।’ कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली हुन् ।
गण्डकी प्रदेशमा नयाँ सकारबारे माओवादी केन्द्रका प्रदेश इञ्चार्ज एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले भने, चार चरणमा छलफलपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन हामी सहमति नजिक पुगेका छौं ।
६० सदस्यीय प्रदेशसभा सदस्यमध्ये तीनजना राजमोका छन् । सरकारविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गरे पनि राजमो सरकारमा भने नजाने भएको छ । नयाँ बन्ने गठबन्धन सरकारमा नगइ बाहिरबाटै समर्थन दिने राजमोको भनाइ छ ।