बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

राम्रो अनलाइन     १३ जेठ २०८१, आइतबार
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

 

बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्जमा २३ हजार पाँच सय ३७ जना पर्यटकहरू भ्रमण गरेका छन् । बाघ हेर्नका लागि प्रख्यात मानिएको बर्दिया राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको वैशाख मसान्त सम्ममा ती पर्यटकहरूले निकुञ्ज भ्रमण गरेका हुन् ।

निकुञ्ज भ्रमण गर्नेमा सबैभन्दा बढी नेपाली नागरिक रहेका छन् । कुल पर्यटक मध्ये ६९.१३ प्रतिशत १६ हजार दुई सय ६९ जना पर्यटक नेपाली रहेका छन् । भने २५.७२ प्रतिशत छ हजार ५३ जना पर्यटक विदेशी रहेका छन् । त्यसैगरी ५.१६ प्रतिशत एक हजार दुई सय १५ जना पर्यटक भारत लगायत सार्क मुलुकका रहेका छन् ।

अघिल्लो आर्थिक बर्ष २०७९/८० को वैशाख मसान्त सम्ममा नेपाली पर्यटक १४ हजार नौ सय ९१, विदेशी पर्यटक पाँच हजार नौ सय ८९ र सार्क राष्ट्रका एक हजार नौ जना गरी २१ हजार नौ सय ८९ जना पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आएका थिए ।

गत वर्षको तुलनामा यस आर्थिक वर्षमा पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत आशिष न्यौपानेले बताए । विगत वर्षहरूको तुलनामा पर्यटकहरू र उहाँहरूबाट सङ्कलन हुने राजश्वमा वृद्धि भएको छ ।

पर्यटकहरूको वृद्धि भएसँगै बर्दियाका पर्यटन व्यवसायीहरू पनि हर्षित भएका छन् । कोरोनापछि सुस्ताएको पर्यटन व्यवसाय पुनः तङ्ग्रिँदै गएको पर्यटन व्यवसायी रामजी थापा बताउँछन् ।

प्रतिक्रिया