नीति तथा कार्यक्रममाथि छलफल, प्रतिपक्षी दलको विरोध

राम्रो अनलाइन     १३ जेठ २०८१, आइतबार
नीति तथा कार्यक्रममाथि छलफल, प्रतिपक्षी दलको विरोध


काठमाडौं–आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम माथिको छलफल प्रतिनिधिसभा बैठकमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफल प्रारम्भ भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठकमा विरोध गरिरहेकैबेला बैठकमा छलफल सुरुभएको छ । सहकारीमा भएको ठगीको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै सो दलले विरोध गर्दैआएको छ । व्यक्ति तोकेर मात्र समिति गठन गर्नुपर्ने माग कांग्रेसले गरेपछि सहमति बन्न नसकेको सत्ता पक्षका दलका नेताहरुको भनाइ छ । 

छलफलमा भाग लिंदै नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद विष्णुप्रसाद पौडेलले नीति तथा कार्यक्रममा राम्रा विषयवस्तु समेटिएकाले पक्षमा आउन सबैलाई आग्रह गरे। 

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद जनार्दन शर्माले सहमतिको आधारमा नीति तथा कार्यक्रममा सबै दल एक ठाउँमा आउनुपर्ने बताए। सरकारको बजेट आउने समय आइसकेकाले नीति तथा कार्यक्रमको पक्षमा आउन उनले सबै दललाई आग्रह गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्मीम बाग्लेले देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेकाले सबैले सहयोग गर्नुपर्ने बताए। नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रममा दलको समर्थन रहेको भन्दै उहाँले प्रतिपक्षी दललाई पनि सहयोग गर्न आग्रह गरे। 

जनता समाजवादवादी पार्टीका सांसद विरेन्द्रप्रसाद महतोले नीति तथा कार्यक्रम पारित गर्नुपर्ने आवश्यकता रहेकाले सबैलाई सहयोग गर्न आग्रह गरे । एक सरकारले ल्याएको नीति र कार्यक्रमको अपनत्व अर्को सरकारले नलिने प्रबृत्तिले देशको विकासमा समस्या भइरहेको उनले चर्चा गरे। 

बैठकमा उठेको जिज्ञासाको सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सदन अवरोधको स्थितिकाविचमा नीति तथा कार्यक्रममाथि छलफल गर्नुपर्दा दुःख लागेको बताए । यो स्थितिको अन्त्यका लागि नियमित दलीय छलफल भए पनि गतिरोध अन्त्य हुन नसकेको उनले जानकारी गराए। 

सहमतिको नजिक आफूहरु पुगे पनि ठोस सहमति हुन नसकेको उनले बताए । आज विहान मात्र कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमै गएर छलफल गरी सहमतिको प्रयास गरेको बताए । बजेट आउने समयअघि सहमति बन्ने विश्वास पनि उनले बैठकलाई जानकारी गराए । संसदीय छानविन समिति बनाउने विषयमा सहमति भइसकेको भए पनि त्यसको टिओआरमा मात्र ठोस सहमति हुन नसकेको उनले बताए।

प्रतिक्रिया