काठमाडौँ– वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ। सुकेधारामा रहेको एसके इन्टरप्राइजेजले बजारमा वितरण गरेको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस २०–एएल÷वाईएल२३, सीएचआई’ को चाउचाउ न्यून गुणस्तरको भेटिएको हो। यो ब्याचको चाउचाउमा बनाउँदा प्रयोग गरिने तेल न्यून गुणस्तरको रहेको महानगरले जनाएको छ।
काठमाडौं महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झा वाइ वाइ चाउचाको प्याकेट खोल्दा ढुसी परेको भेटिएको थियो। त्यसपछि सोही ब्याचका अन्य चाउचाउ बजारबाट ल्याएर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएको डा. झाले बताए। ‘चाउचाउ बनाउनको लागि प्रयोग गर्ने तेल नै गुणस्तरहीन रहेको भेटिएको छ,’ डा. झाले भने, ‘त्यसपछि हामीले जरिवाना तोकेका हौं।’
महानगरले अब अन्य कम्पनीको चाउचाउ र वाइ वाइको अरु ब्याचको चाउचाउको पनि प्रयोगशालामा परीक्षण गर्ने जनाएको छ। ‘अहिले उजुरीको आधारमा हामीले वाइ वाइको गुणस्तर जाँच गरेका हौं, अब हामी सबै किसिमको खाद्य सामग्रीको जाँच गर्दै जाने छौं,’ डा. झाले भने।
गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएको हो । नेपाल राजपत्रको गुणस्तर भन्दा अधिक मात्रामा एसिड प्रयोग भएको पाईएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी हुनुपर्नेमा चाउचाउमा १३.९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको महानगरको बजार अनुगमन समितिले जनाएको छ ।
गुणस्तर फेल भएको चाउचाउ उत्पादन गर्ने चौधरी ग्रुपलाई सानेपालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ भने ब्याच नं ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० ब्याचको चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।