अध्यक्ष ओली भन्छन् : ‘राजेश हमाल मलाई मन पर्नुहुन्छ’ 

राम्रो अनलाइन     ०२ चैत २०८०, शुक्रबार
अध्यक्ष ओली भन्छन् : ‘राजेश हमाल मलाई मन पर्नुहुन्छ’ 


काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिएका छन्।  ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सातौँ संस्करणका अवसरमा ‘एमाले अध्यक्ष केपी ओलीसँग  राजेश हमालको सिनेमा संवाद’का क्रममा उनले देशमा स्तरीय चलचित्र बन्नुपर्नेमा जोड दिएका हुन्।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘देशको प्रकृति, इतिहासका बारेमा चलचित्र बन्नुपर्छ भन्ने मलाई लाग्छ ।’ आफूले चलचित्रको कथा र त्यसअनुसार भूमिका निर्वाह गर्ने पात्रका अभिनय हेर्ने गरेको तथा कला, साहित्य, इतिहासलाई लिएर निर्माण गरिएका चलचित्रले आफूलाई आकर्षित गरेको उनले बताए।

उच्च शिक्षा प्राप्तिको सिलसिलामा नेपाली युवामा विदेश जाने प्रवृत्ति बढीरहेको र धेरै ठूलो सङ्ख्यामा उनीहरू उतै बस्ने गरेको देखिएको उल्लेख गर्दै एमाले अध्यक्षले भने, ‘युवाहरू अध्ययनका लागि बाहिर जाने र उतै बस्ने समस्या देखिएको छ, कुनै पनि देश पैसा भएर धनी हुने होइन, विकास भएर देश धनी हो, युवा पङ्क्तिलाई आफ्नो देशको विकास गर्नुपर्छ भन्ने बुझाउन जरुरी छ ।’

अध्यक्ष ओलीले नायक हमाल सालिन अभिनयकर्ताका रूपमा परिचित रहेको उल्लेख गर्दै भने, ‘राजेश हमाल आकर्षक हुनुहुन्छ, विद्वान् एवं असल चालचलन भएको अभिनेता हुनुहुन्छ, अभिनय गर्दा आफू को थिएँ भन्ने नै बिर्सनुहुन्छ, समाजसँग घुलमिल हुन असाध्यै सिपालु हुनुहुन्छ, यिनै विशेषता र गुणहरूले राजेश हमाल मलाई मन पर्नुहुन्छ ।’

नायक राजेश हमालले पूर्वप्रधानमन्त्री ओलीको सबैसँग सहजै घुलमिल हुनसक्ने क्षमताबारेमा भने, ‘मैले तपाईँको जीवनका बारेमा जति बुझेको छु, सबै व्यक्तिसँग तपाईँको सहजरूपमा प्रस्तुत हुनसक्ने क्षमता छ, तपाईँका समकालीन नेतामा त्यो क्षमता देख्दिनँ, त्यो प्रतिभा हजुरमा छ, जुन मननयोग्य छ ।’

 
यही चैत ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएर प्रदर्शन गरिने चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं महोत्सव आयोजकका अध्यक्ष केपी पाठकले जानकारी दिए । हिजो सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महोत्सवको सातौँ संस्करणको उद्घाटन गरेकी थिइन्।

प्रतिक्रिया