नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिएर स्वदेश फिर्ता हुनुअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय रक्षामन्त्री तथा सत्तारुढ दलका वरिष्ठ नेता राजनाथ सिंहलाई भेटेका छन् ।
शनिबार नयाँ दिल्लीमा भएको भेटवार्तामा नेपाल भारत सम्बन्ध तथा दुई पक्षीय हितबारे छलफल भएको बताइएको छ । नेपाल-भारतबीच भएका असमझदारीलाई चाँडै वार्तामार्फत समाधान गर्ने विषयमा पनि कुराकानी भएको थियो । भेटका क्रममा रक्षामन्त्री सिंहले नेपालसँगको सम्बन्ध र सहकार्यलाई अझ व्यापक र बलियो बनाउन भारत सधैँ तयार रहेको बताएका थिए।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार दिल्ली पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री डा. एस जयशंकरलगायतका अधिकारीसँग भेटवार्ता गरिसकेका छन्। दुवै देशका परराष्ट्रमन्त्री सहभागी शनिबार सम्पन्न आयोगको बैठकमा नेपाल र भारतबीच सीमा समस्या तथा अन्त थाँती विषय चाँडै सुल्झाउने सहमति भएको छ। आयोगको बैठकमा कोभिड—१९ खोप, सीमा नाका र सीमा व्यवस्थापन, अन्तरदेशीय यातायात, आर्थिक सहयोग, व्यापार, जलविद्युत् र जलस्रोतका साथै संस्कृति र शिक्षालगायत महत्वपूर्ण क्षेत्रहरूका बारेमा छलफल भएको छ।
परराष्ट्रमन्त्री ज्ञवाली आजै स्वदेश फर्किने छन् ।