जनकपुरधाम– आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले जनकपुरधामको होटेलबाट पक्राउ गरेको छ ।
गत मंसिर २० गते सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । उनलाई आवश्यक प्रक्रिया पुरा गरी करागार चलान गरिने छ ।
गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती साह मृत भेटिएकी थिइन्। आरतीको माइती पक्षले श्रीमान, देवर, ससुरा लगायतले हत्या गरी झुण्ड्याएको आरोप लगाउँदै आएको छ।
आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना छन्।