हाम्रो बारेमा
उपल्लो मुस्ताङ ‘यार्तुङ’ पर्वमय बनेको छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाकाका विष्ट, गुरुङ र लोवा जातीले बर्खा यामको बिदाइ र हिउँद यामको स्वागतका लागि यार्तुङ पर्व मनाउँछन् ।

बर्खायामलाई बिदाइ गर्ने पर्वका रुपमा लिइने यो मेला मुस्ताङ लगायत, मनाङ र डोल्पा लगायत हिमाली जिल्लामा पनि मनाइन्छ । यार्तुङ तिब्बती भाषाबाट उत्पति भएको शब्द हो ।
यार्तुङमा खेतीबाली राम्रो होस भनेर लामाहरुले देवी देवताको पुजाआजा गर्छन् । घोडचढी कौशल देखाउने उत्सवको रुपमा लिइने ‘यार्तुङ’मा स्थानीय सेब्रु नाच, साँस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडाध्यक्ष कर्मा घ्याचो गुरुङले यार्तुङ पर्व सामाजिक सद्भाव कायम राख्नका लागि पनि महत्वपूर्ण रहेको बताए ।
यार्तुङमा गरिने घोडादौड प्रतियोगिता अवलोकनका लागि विदेशी र आन्तरिक पर्यटकहरु मुक्तिनाथ आउने गरेका उनले बताए । तारो (घनुषवाण) र फुटबल लगायतका खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएको छ ।
यार्तुङ मनाएपछि खेतीबाली भित्र्याउने र लगाउन थाल्छन् । उवा, जौ, फापर बाली भित्र्याएपछि चिसो शुरु नहुदै उपल्लो मुस्ताङका बासिन्दा जाडो छल्न पोखरा, काठमाडौ, चितवन, बुटवल लगायत देशका विभिन्न सहरमा जाने गर्दछन् । फागुनमा गर्मी शुरु भएपछि घर फर्कने उनीहरु सहरमा घुम्ती व्यवसाय गर्छन् ।