काठमाडौं–आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि असोज २३ गते आइतबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रमका लागि तयारी पूरा भएको छ । उक्त कार्यक्रमलाई पालना गर्दै सम्बन्धित दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीब्र बनाएका छन् ।
असोज २३ गते दिन बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइएको छ ।
उक्त कार्यक्रमका सन्दर्भमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आव्हान गरे । आज आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आयोग विशेष आग्रह गर्दछ । सो क्रममा आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्नसमेत आयोग सम्बन्धित सबैमा आग्रह गरे ।
पत्रकारहरुको जिज्ञाशाका क्रममा प्रमुख आयुक्त थपलियाले विविध कारणवश केही दलले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरेको भए पनि दलहरुले प्रायः अन्तिम समयमा मात्रै उम्मेदवारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट गरे । उनले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजागहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट गर्दै आवश्यकता र औचित्यताका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा संशोधन गरिएको जवाफ दिए । प्रमुख आयुक्त थपलियाले विगतको अनुभव र प्रतिक्रियालाई आधार मानेर मतदानका दिन व्यवस्थितरुपमा सार्वजनिक सवारी साधन सञ्चालन गराउने सम्बन्धमा सरोकारवाला निकायका प्रतिनिधिसहितको कार्यदल गठन गरिएकाले सोको प्रतिवेदनबमोजिम कार्यान्वयन गरिने बताए ।
निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिसकेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद तोक्ने निर्णय गरी यही असोज १६ गते सार्वजनिक गरिसकेको छ ।
समानुपातिकको मतपत्र छपाइ
आयोगले समानुपातिक निर्वाचनतर्फका लागि जनक शिक्षा सामग्री केन्द लिमिटेड, भक्तपुरबाट कुल चार करोड ५५ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ । यसमध्ये प्रतिनिधिसभा सदस्यतर्फ एक करोड ९८ लाख ७१ हजार र प्रदेशसभा सदस्यतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ यही असोज २७ गतेदेखि मतपत्र छपाइ कार्य सुरु हुनेछ
आचारसंहितामा संशोधन :
आयोगले निर्वाचन आचारसंहिता, २०७९ मा यही असोज १६ गतेको निर्णयबाट पहिलो संशोधन गरेको छ । सामान्य त्रृटी सुधारका अतिरिक्त मूल आचारसंहिताको दफा ५ र अन्य दफाहरुमा केही संशोधन भएका छन् । संशोधित आचारसंहितामा “नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचारण” का सम्बन्धमा प्रतिबन्धात्मक वाक्याशंलाई थप स्पष्ट बनाइ “निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रसार प्रसारमा सम्लग्न हुन सक्ने प्रबन्ध गरिएको छ । यस्तै नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीले आयोगको सहमति लिइ त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा सम्लग्न हुन सक्ने, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा सम्लग्न हुन सक्ने र नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचनको प्रचारप्रसारमा सम्लग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने” व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
बन्दसूचीको सूचना प्रकाशन रातिसम्म
निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना आज ५ बजेसम्म् प्रकाशन गर्ने कार्यक्रम रहेकामा राति अबेरसम्म प्रकाशन हुने भएको छ । आयोगले दलहरुबाट पेस भएबमे संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइ सोबारे सम्बन्धित दललाई जानकारी दिएको थियो । यही असोज २० गतेदेखि आजै ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस भएको छ । ती नामसहित प्रतिनिधिसभा र प्रदेशसभामा गरी छ हजार चार सय ९३ जना उम्मेदवार रहेका छन् ।
निर्वाचनका लागि मतदाता नामावलीमा १,७९,८८,५७० मतदाता संख्या रहेका छन् । यसमा पुरुष मतदाताको संख्या ९१,४०,८०६ र महिला मतदाताको संख्या ८८,४७,५७९ रहेका छन् निर्वाचनको लागि देशभर १०,८९२ मतदान स्थल र सोअन्तर्गत २२,२२७ मतदान केन्द्र कायम गरिएको छ ।