काठमाडौं – मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणमा आएकी छिन् । उनका साथमा केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई नेपाल पर्यटन बोर्ड, एनआरएनए र पर्यटन प्रवर्धकले परम्परागत पञ्चेबाजा, फूलमाला, नेपालको राष्ट्रिय झण्डासहित स्वागत गरेका छन् ।
उनीहरुलाई पर्यटन बोर्डका कमल सापकोटा, नेपाल सरकारको वेल्सका लागि पर्यटन प्रबर्धक तथा माल्टा नेपाल एसोसियनका उपाध्यक्ष सोम सापकोटा, नेपाल सरकारका प्रतिनिधि तथा एनआरएनए एनसीसी माल्टा अध्यक्ष रेम्स खनाललगायतले मिस माल्टालाई स्वागत गरेका थिए।
नेपाल भ्रमणमा रहँदा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, उनीहरूले चन्द्रागिरि, पाटन दरबार स्क्वायर, पशुपतिनाथ, स्वयम्भूनाथलगायत सम्पदाको भ्रमण गर्ने जानकारी पर्यटन बोर्डले दिएको छ । यसैगरी, उनीहरूले नेपालका विद्यालयहरू भ्रमण गर्नेछन् र सहयोग चन्दा प्रदान गर्नेछन्।
साथै भ्रमणका क्रममा काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोल, चितवन जिल्लाको भरतपुर महानगरपालिकका प्रमुख रेणु दाहाल र रत्ननगरका प्रमुख प्रल्हाद सापकोटासँग भेटवार्ता गर्ने छन् । साथै चितवनमा रहँदा सफारीको मजा लिने र विभिन्न गतिविधिमा व्यस्त रहने भ्रमण तालिकामा उल्लेख छ ।
साथै नेपाल बसाइमा मिस माल्टा नेतृत्वको टोलीले नेपालको समृद्ध सांस्कृतिक र ऐतिहासिक महत्व झल्काउने थप सम्पदाहरुको स्थलगत भ्रमण गर्ने छ । उनीहरू भदौ ५ गतेसम्म नेपालमै बस्ने छन्।