गायक हेमन्त रानाको ‘सुन साइँली’ गीतले धेरैको मन छोयो। गीतको भिडियोमा अभिनय गरेका थिए अभिनेता गौरव पहारी र अभिनेत्री मेनुका प्रधानले। नेपाली फिल्म जगत्मा फिल्म ‘मञ्जरी’ बाट डेब्यू गरेका गौरव ‘सुन साइँली’ गीतबाट दर्शकमाझ ‘नोटिस्ड’ भए।
गीतको चर्चा चुलियो। गीतसँगै गौरव पनि चर्चाको शिखरमा पुगे। पछिल्लो समय उनको व्यस्तता बढेको छ। आउँदो चैतमा उनी अभिनीत फिल्म ‘साइँली’ प्रदर्शन हुने भएको छ।
काठमाडौँमा जन्मिएका हुन्, गौरव। उनको बाल्यकाल भने मामाघर नेपालगञ्जमा बित्यो। सानैदेखि घरपरिवारबाट टाढा बस्नुपरेको उनी सुनाउँछन्। ‘बच्चैदेखि परिवारबाट टाढिँदै गएँ,’ उनी भन्छन्, ‘काठमाडौँ आएपछि पनि कक्षा चारदेखि १० सम्म होस्टल बसेर पढेँ।’ एसएलसीपछि आफू लागुपदार्थको कुलतमा नराम्ररी फसेको उनी बताउँछन्। ‘ए लेभल भर्ना भएँ तर पास गर्न सकिनँ,’ उनी भन्छन्, ‘साथीभाइको संगतले मलाई ड्रग एडिक्ट बनायो।
‘छोरो कुलतमा फस्यो’ भनेर आमाबुबाले भारतको केरलामा प्लस टू पढ्न पठाउनुभयो।’ लागुऔषधको तलतलले उनलाई त्यहाँ पनि छोडेन। ‘एक–डेढ हप्ता साह्रै गाह्रो भयो,’ उनी भन्छन्, ‘ड्रग्सको तलतल लाग्थ्यो। होस्टेल एकदम कडा थियो। मेरा लागि रिह्याबसरह नै थियो।’
प्लस टू पढ्ताका आफूलाई ‘स्टेज फोबिया’ भएको गौरव सुनाउँछन्। मान्छेसँग बोल्न लजाउँथे, उनी। भन्छन्, ‘कक्षा १२ पढुञ्जेलसम्म म कहिल्यै स्टेज चढिनँ। न डान्समा सहभागी हुन्थेँ। स्टेजमा सबैका अगाडि गएर बोल्न आँट आउँथेन।’ उनी अन्तर्मुखी स्वभावका थिए। भारतको पुणेबाट उनले स्नातक गरे। ‘स्नातक गरुञ्जेलसम्म परिवारबाट सक्दो साथ पाएँ,’ उनी भन्छन्।
उनका बुबा टीका पहारी प्रसिद्ध अभिनेता थिए। गौरवलाई पनि कलाकारितामा लाग्ने धोको थियो। व्यवस्थापन विषयका विद्यार्थी भएर पनि उनले अभिनय सिक्ने योजना बनाए। बुबाको सल्लाहअनुसार मुम्बईको एउटा एक्टिङ इन्स्टिच्युटमा भर्ना भए।
‘त्यहाँ मैले छमहिने एक्टिङ कोर्स गरेँ,’ उनी भन्छन्, ‘बलिउडका थुप्रै कलाकारसँग हिमचिम भयो।’ एक्टिङ क्लासमा जान थालेपछि आफ्नो आत्मविश्वास बढ्न थालेको उनी बताउँछन्। ‘स्टेज फोबिया भएको मान्छे म,’ उनी भन्छन्, ‘अभिनय सिक्दा स्टेजअगाडि गएर प्रस्तुति दिनुपथ्र्यो। बिस्तारै, लाज, डर हट्दै गयो।’
मुम्बईमा गौरवले चार वर्ष संघर्ष गरे। ‘घरको जेठो छोरो, कमाएर घरमा दिनुको साटो उल्टै माग्नुपर्ने,’ उनी मुम्बई अनुभव सुनाउँछन्, ‘घरबाट कति पैसा माग्नु भनेर लाज लाग्न थाल्यो। हीनता बोध हुन्थ्यो। मुम्बईमा कामका लागि खूब धाएँ। त्यहाँ टिक्न भोजपुरीदेखि सर्ट फिल्ममा समेत काम गरेँ। अलि–अलि भए पनि पकेटमनी आउँथ्यो। त्यसले गुजारा टार्थें।’
भारतमा छँदा भारतीय टेलिसिरियलका लागि सयौँ पटक अडिसन दिएको गौरव बताउँछन्। भन्छन्, ‘भारतमा टेलिसिरियलका लागि अडिसन दिँदा सबै कुरामा ओके हुन्थ्यो। लास्टमा नेपाली भएकाले फालिन्थेँ।’ मुम्बईमा अडिसन दिँदा वाक्क भएका गौरवलाई एक दिन नेपालबाट निर्देशक गणेशदेव पाण्डेको फोन आयो। ‘गणेश दाइले ‘मञ्जरी’ फिल्म अफर गर्नुभयो,’ उनी भन्छन्, ‘फिल्ममा काम गर्ने पक्का भएपछि नेपाल फर्किएँ।’
गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘अधकट्टी’, ‘गाजलु’, ‘रातोघर’, ‘मिस्टर भर्जिन’ लगायत फिल्ममा काम गरिसकेका छन्। फिल्म ‘साइँली’ बाट उनी फिल्म निर्माणमा डेब्यू गरिरहेका छन्। आफूलाई हिरोभन्दा पनि कलाकारका रूपमा चिनाउन चाहने उनी बताउँछन्। कामलाई पूजा गर्छन्, गौरव। ‘काम इन्जोय गर्छु,’ उनी भन्छन्, ‘काम अर्थात् सुटिङ भएन भने बोर लाग्छ। काममै व्यस्त रहन मन लाग्छ।’