काठमाडौँ–सौन्दर्य प्रतियोगिताहरू अब केवल बाहिरी आवरणको मापन मात्र रहेनन्, यो नेतृत्व, बौद्धिकता र सामाजिक उत्तरदायित्वको कसी पनि बनिसकेको छ। यही तथ्यलाई प्रमाणित गर्दैछिन्, नेपालको इतिहासमै पहिलो पटक ‘मिस नेपाल कस्मो’को उपाधि जित्न सफल दीपशिखा नेपाल।

झापाको माटोबाट उठेकी २४ वर्षीया दीपशिखाले हालै भियतनाममा सम्पन्न ‘मिस कस्मो २०२५’ मा नेपालको झण्डा फहराउँदै आफ्नो सशक्त उपस्थिति जनाएकी छिन्। वातावरण विज्ञानकी विद्यार्थीदेखि अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने सुन्दरीसम्मको उनको यात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
सन् २०२५ को मिस नेपाल प्रतियोगितामा ‘मिस नेपाल कस्मो’ को उपाधि जित्दै दीपशिखाले इतिहास रचिन्। यो नेपालका लागि नयाँ टाइटल थियो र उनी यसको पहिलो हकदार बनिन्।

काठमाडौँमा निर्णायकहरूको मन जितेर भियतनामको हो चि मिन्ह सिटी पुगेकी दीपशिखाले त्यहाँ ७० भन्दा बढी देशका सुन्दरीहरूसँग प्रतिस्पर्धा गरिन्। डिसेम्बर २० मा सम्पन्न ग्रान्ड फिनालेमा उनले मुख्य उपाधि नजिते पनि ‘कस्मो इम्प्याक्टफुल ब्युटी अवार्ड’ को शीर्ष १० भित्र स्थान बनाउन सफल भइन्। यो विधाले प्रतिस्पर्धीको सामाजिक प्रभाव र वकालतको मूल्याङ्कन गर्दछ, जसमा दीपशिखाको प्रस्तुति अब्बल ठहरियो।

ग्ल्यामरस दुनियाँमा रमाइरहँदा पनि दीपशिखाले आफ्नो शैक्षिक पृष्ठभूमि र मूल उद्देश्यलाई बिर्सेकी छैनन्। त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातक गरेकी उनी एक सक्रिय जलवायु अभियन्ता हुन्।
उनी ‘वन मिलियन लिडर्स एसिया’ को फेलो समेत हुन्। उनको मुख्य प्रोजेक्ट, ले ग्रामीण भेगका महिलाहरूलाई जलवायु परिवर्तनको असरसँग जुध्न र दिगो कृषि प्रणाली अपनाउन प्रेरित गर्छ। उनी भन्छिन्, ‘सौन्दर्य प्रतियोगिता मेरो लागि एउटा मञ्च हो, जहाँबाट म जलवायु परिवर्तन जस्तो गम्भीर मुद्दालाई विश्वसामु चिनाउन सक्छु।’

सन् २००१ मा झापामा जन्मिएकी दीपशिखा सानैदेखि स्पष्ट वक्ता र जिज्ञासु स्वभावकी थिइन्। फ्रिल्यान्सर एमसी र अनुसन्धानकर्ताको रूपमा काम गरिसकेकी उनमा आत्मविश्वासको कमी कहिल्यै भएन। मिस नेपालको मञ्चमा उनले दिएका उत्तरहरूले उनको तार्किक क्षमता र गहिरो अध्ययनलाई झल्काउँथे। विशेष गरी उनको ‘मिस इम्पावर्ड च्वाइस’ सव–टाइटल जित्नुले उनी युवा पुस्ताको रोजाइमा परेको पुष्टि गर्छ।

दीपशिखा नेपालको यात्रा भियतनामको मञ्चमा गएर टुङ्गिएको छैन, बरु अझ फराकिलो भएको छ। पहिलो ‘मिस नेपाल कस्मो’ का रूपमा उनले भविष्यका प्रतिस्पर्धीहरूका लागि एउटा बलियो मापदण्ड खडा गरेकी छिन्।

वातावरण संरक्षण र महिला सशक्तिकरणलाई सँगसँगै लैजाने उनको योजनाले उनलाई केवल एक ‘ब्युटी क्वीन’ मात्र नभएर समाज परिवर्तनको संवाहकको रूपमा स्थापित गरेको छ।








