धरान – अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ दिनको खेलमा झापा ११ झापाले सातदोबाटो युथ क्लब काठमाडौंलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
धरान रंगशालामा मंगलबार भएको खेलमा झापा ११ ले उत्कृष्ट प्रदर्शन गर्दै सातदोबाटोलाई स्तब्ध बनाउँदै जित हात पारेको हो ।
खेलको १६औँ मिनेटमा झापा ११ का राजेश दाहालले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४३औँ मिनेटमा एरोन थापाले दोस्रो गोल गर्दै झापाको जित सुनिश्चित गरे । सातदोबाटोका वेविरोसले दोस्रो हाफको १३औँ मिनेटमा एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
खेलको ४८औँ मिनेटमा सातदोबाटोका खेलाडी वेविरोसले रेड कार्ड पाएपछि सातदोबाटो १० खेलाडीमा सीमित भएको थियो । झापा ११ ले घरेलु दर्शकको उल्लेखनीय साथ पाएको यस खेलमा एरोन थापा मगर ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । भोलि हुने पहिलो सेमिफाइनल खेल लालिगुराँस फुटबल क्लब पोखरा र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंबीच हुनेछ ।
सातदोबाटो युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं दुवै टोली पहिलोपटक बुढासुब्बा गोल्डकप खेल्न धरान आएका हुन् ।