अभिनेत्री वर्षा शिवाकोटी भन्छिन् : ‘खुसी भएर मनदेखि काम गर्ने चरणमा छु’ 

रुकेश श्रेष्ठ     २१ असोज २०८१, सोमबार
अभिनेत्री वर्षा शिवाकोटी भन्छिन् : ‘खुसी भएर मनदेखि काम गर्ने चरणमा छु’ 

 

अभिनेत्रीको वर्षा शिवाकोटीको अभिनय करिअरले दशक नाघेको छ । डेब्यु फिल्म ‘नाइँ नभन्नु ल २’ देखि सुरु भएको वर्षाको यात्रा १८ औं फिल्म ‘छक्कापञ्जा ५’ सम्म आइपुग्दासम्म उनी निकै खरिएकी अभिनेत्रीका रूपमा दर्शककाबीच पपुलर छिन् । ‘अहिले कामलाई इन्जोय गर्न थाल्या छु । पहिला हतार हुन्थ्यो । मैले सेटभित्र र सेट बाहिरको धेरै जीवनलाई जिउनै नपाएको रहेछु’ वर्षा भन्छिन्, ‘अहिले मलाई सुटिङको प्रत्येक क्षण विशेष लाग्छ । हरेक टिम मेम्बर स्पेसल लाग्छ । यतिबेला खुसी भएर मनदेखि काम गर्ने चरणमा छु ।’

‘अहिले कतै कुद्नु छैन, कतै हतार छैन । यो सबै सिकाइ, भोगाइ र ग्रोथ जुन ममा आएको छ, यो चाहिं यही १० वर्षको अनुभवले हो’ वर्षा भन्छिन् ।

अझै पनि आफूलाई सन्तुष्ट हुने काम गर्न बाँकी रहेको वर्षा सुनाउँछिन् । ‘म अझै पनि आफ्नो काममार्फत आफूलाई चिनाउन चाहन्छु । केही हदसम्म छक्कापञ्जा ५ बाट कामलाई एक्स्प्लोर गर्न सकेकी छु’ भन्छिन्, ‘पहिलोपटक ‘नाइँ नभन्नु ल २’ गर्दा ओठ काँप्थ्यो, स्कुलिङ र कुनै अनुभव थिएन । टिमबाट म आफैंमा एक्स्प्लोर हुन पाउँ भन्ने जुन अपेक्षा थियो, त्यो पनि पूरा भएको देख्दा एकदमै खुसी लागेको छ ।’

प्रतिक्रिया