कुल, पितृ र इष्ट : अस्तित्व, संस्कार र जीवनको आधार

गुरु केदार बराल     २९ वैशाख २०८३, मङ्गलबार
कुल, पितृ र इष्ट : अस्तित्व, संस्कार र जीवनको आधार

कुल, पितृ र इष्ट–यी केवल पूजा गर्ने नामहरू मात्र होइनन्, यी हाम्रो अस्तित्व, संस्कार र जीवनको आधार हुन्। मानिस जतिसुकै ठूलो पदमा पुगे पनि, जतिसुकै धन कमाए पनि, यदि उसले आफ्नो कुल, आफ्ना पितृ र आफ्नो इष्टलाई बिर्सियो भने उसको जीवन भित्रैबाट खाली हुँदै जान्छ। किनकि जरा कमजोर भएको रूख धेरै समय हरियो रहन सक्दैन।

कुलले हामीलाई आफ्नो वंश, संस्कार, परम्परा र पहिचान सम्झाउँछ। कुलको सम्मान गर्नु भनेको आफ्नो अस्तित्वलाई सम्मान गर्नु हो। जसले आफ्नो कुललाई सम्झिन्छ, उसले परिवार, समाज र धर्मप्रति कर्तव्य पनि बुझ्छ। कुलदेवताको स्मरणले मानिसलाई अनुशासन, मर्यादा र जिम्मेवारी सिकाउँछ।

पितृ भनेका केवल बितिसकेका पुर्खा होइनन्, हाम्रो आजको अस्तित्वको कारण नै पितृ हुन्। उहाँहरूको त्याग, दुःख, संघर्ष र आशीर्वादको जगमा आज हामी उभिएका छौँ। पितृको सम्मान गर्ने व्यक्तिमा कृतज्ञता हुन्छ, र कृतज्ञता भएको मानिस कहिल्यै अहंकारी बन्दैन। पितृलाई सम्झिने संस्कारले मानिसलाई विनम्र र शिष्ट बनाउँछ।

इष्ट भनेको आत्माको मार्गदर्शक शक्ति हो। जब जीवनमा अन्योल, दुःख, डर वा असफलता आउँछ, त्यही इष्टको स्मरणले भित्र शक्ति, धैर्य र आशा जगाउँछ।
इष्टले केवल पूजा माग्दैनन्, उहाँहरूले सही बाटोमा हिँड्ने चेतना दिनुहुन्छ। सत्य, संयम, करुणा र सदाचार सिकाउनुहुन्छ।

त्यसैले भनिन्छ–

“कुल, पितृ र इष्ट !
बन्न सिकाउँछन् शिष्ट !!”

किनकि जहाँ कुलको संस्कार हुन्छ,
जहाँ पितृप्रति सम्मान हुन्छ,
जहाँ इष्टप्रति श्रद्धा हुन्छ,
त्यहाँ व्यवहारमा नम्रता हुन्छ, बोलीमा मिठास हुन्छ र जीवनमा मर्यादा हुन्छ।

आज मानिसहरू आधुनिक बन्न खोज्दैछन्,
तर शिष्ट बन्न बिर्सिरहेका छन्।
ज्ञान बढेको छ, तर संस्कार घट्दै गएको छ।
भौतिक सुख बढेको छ, तर आत्मिक शान्ति हराउँदै गएको छ।
यही कारणले मानिससँग सुविधा धेरै छन्, तर सन्तुष्टि कम छ।

वास्तविक महानता ठूलो घर, ठूलो गाडी वा ठूलो पदमा हुँदैन,
वास्तविक महानता त आफ्नो जरा नबिर्सिने संस्कारमा हुन्छ।
जुन मानिसले आफ्नो कुल मान्छ, पितृ सम्झिन्छ र इष्टमा श्रद्धा राख्छ,
त्यो व्यक्ति जीवनमा कहिल्यै पूर्ण रूपमा हराउँदैन।

किनकि संस्कार भएको मानिस जहाँ गए पनि सम्मानित हुन्छ,
तर संस्कारविहीन मानिस जहाँ पुगे पनि अशान्त हुन्छ।

त्यसैले,
आफ्नो कुल नबिर्सौँ,
पितृलाई सम्मान गरौँ,
इष्टप्रति श्रद्धा राखौँ।

किनकि यही तीन शक्तिले मानिसलाई केवल सफल होइन,
सभ्य, मर्यादित र शिष्ट बनाउँछन्।

प्रतिक्रिया