प्रदेशका रूग्ण उद्योगहरू प्रदेश सरकारले सञ्चालन गर्छ : मुख्यमन्त्री लामा

राम्रो अनलाइन     ०६ जेठ २०८२, सोमबार
प्रदेशका रूग्ण उद्योगहरू प्रदेश सरकारले सञ्चालन गर्छ : मुख्यमन्त्री लामा

बागमती–बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले प्रदेशमा रूग्ण रहेका उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन्।

आजदेखि सुरू भएको बागमती प्रदेशसभाको सोह्रौँ अधिवेशन बैठकमा शुभकामना मन्तव्य दिँदै मुख्यमन्त्री लामाले लामो समयदेखि बन्द रहेका हेटौँडा सिमेन्ट उद्योग, हेटौँडा कपडा उद्योगलगायत प्रदेशका उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्ने प्रयासमा प्रदेश सरकार रहेको बताए। 

उद्योग सञ्चालन नगरी रोजगारी प्रवर्द्धन गर्न नसकिने उल्लेख गर्दै उनले रूग्ण उद्योग सञ्चालनका लागि सङ्घीय सरकारसँग पहल भइरहेको जानकारी दिए। सरकारको एकल प्रयासले मात्र प्रदेशलाई समृद्ध बनाउन नसकिने भएकाले सबैको सकारात्मक सहयोग, समन्वय र एकता आवश्यक रहेको औँल्याउँदै मुख्यमन्त्री लामाले प्रदेशको समग्र विकास र समृद्धिलाई सबैसँग एकता र सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

सीमित स्रोतसाधनलाई समुचित प्रयोग गरी समृद्ध प्रदेश निर्माणका लागि सरकार लागि परेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले सरकार लोकप्रियता नभई प्रदेश र नागरिकको आवश्यकताको आधारमा काम गरिरहेको दाबी गरे। 

प्रदेश सरकारको काम सरल र सहज बनाउन जिआइ ओएमएस सिस्टम जडान गरेको बताउँदै मुख्यमन्त्री लामाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए। 

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार आग्रह गरे। 

“हामीसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार इमान्दार देखिएको छैन”, उनले भने, “अघिल्लो सरकारले ल्याएका योजनामा बजेट विनियोजन नगर्ने र स–साना टुक्रे योजनाहरू सरकार बनाउन उद्दत देखिएको छ, यो हामीलाई स्वीकार्य छैन ।” ठूलाठूला योजनामा बजेट नछुट्टयाउने र स–साना योजना बनाउन सरकार लागेको छ, यो ठीक होइन उनले भने। 

प्रदेशसभाले बनाएका कतिपय कानुनहरू संशोधन र परिमार्जन गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले ऐन कानुनहरू परिमार्जनका लागि सुझाव समिति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।  

नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारको लोकप्रिय काम देखेर केही राजनीतिक शक्तिहरूमा छटपटी बढेको बताउँदै बाह्य शक्तिहरूले मुलुकलाई अस्थिरता ल्याउन खोजिरहेको बताए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले ठूला दुई दलको वर्तमान गठबन्धन सरकारले जनताको भरोसायोग्य काम गर्न नसकेको आरोप लगाउँदै प्रदेशलाई समृद्ध बनाउन सरकारले कुनै ठोस योजना अघि बढाउन नसकेको गुनासो गरे। 

प्रदेशसभाको बैठकमा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेपाल मजदुर किसन पार्टी संसदीय दलका नेता सुरेन्द्रराज गोसाईं, हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य सरिता खड्गी शुभकामना व्यक्त गरे।  

आजको प्रदेशसभा बैठकमा सभामुख पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको प्रदेशसभाको छैटो अधिवेशन आह्वानसम्बन्धी पत्र, विधेयक प्रमाणीकरणसम्बन्धी विभिन्न पत्रहरू वाचन गरेका थिए। प्रदेशसभाको अर्को बैठक भोलि जेठ ६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक सकिएको छ । 

प्रतिक्रिया