इजरायल– इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ। मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन्। नजिकैको अल–अव्दा अस्पतालले थप नौजनाको शव प्राप्त गरेको छ। जसमध्ये ७ बालबालिका छन् ।
इजरायली सेनाले भने उत्तरी गाजामा हमास र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुहरूलाई आक्रमण गरेको दाबी गरेको छ। इजरायलतर्फ रकेट हमला भएपछि मंगलबारदेखि जबालिया र छिमेकी क्षेत्रका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।
यसैबीच, संयुक्त राष्ट्रसंघका मानवीय सहयोग प्रमुख टोम फ्लेचरले गाजामा भइरहेको नरसंहार रोक्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूलाई तत्काल कदम चाल्न आह्वान गरेका छन् ।