काठमाडौं – तेस्रो संस्करणको थन्डर बोल्ट्स कप २०२५ मा जेम्स स्कुल लगातार तेस्रो वर्ष च्याम्पियन बनेको छ ।
विभिन्न १२ खेलका ३२ विधामा भएका खेलमा जेम्सले कुल ४९ अंक प्राप्त गर्दै पाँच लाख रुपैयाँ प्राप्त गर्न सफल भयो । योसँगै जेम्सले लगातार तेस्रो वर्ष प्रतियोगिता जित्दै ‘ह्याट्रिक’ गरेको छ ।
यस्तै, एभीएम स्कुल दोस्रो तथा निसर्ग वाटिका स्कुलले तेस्रो स्थान हात पारे । एभीएमले २० तथा निसर्ग वाटिकाले कुल ११ अंक बटुलेका थिए । विजेता स्कुललाई समापन समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ ९एन्फा०का महासचिव किरण राई र जेम्स स्कुलका अध्यक्ष राजेश खड्कालगायतले पुरस्कार वितरण गरे ।
समारोहमा विभिन्न विधाका व्यक्तिगत विजेता, टिम तथा विद्यालयहरूलाई पदक र ट्रफी प्रदान गरिएको थियो । प्रमुख अतिथि राईले भने,‘स्कुल स्पोर्टसलाई हाँक्ने अभियानमा जेम्स स्कुलले नेतृत्व लिइरहेको देख्दा खुसी लागेको छ । युवा प्रतिभा यस्तै खाले देशव्यापी प्रतियोगिताबाट उत्पादन हुनेछ ।’
स्पोट्र्स फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, थन्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरका प्राविधिक निर्देशक जोन व्हिटल, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्मा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यलगायत अतिथिहरूको उपस्थिति थियो ।
आयोजक विद्यालयको तर्फबाट शैक्षिक निर्देशक डा.राजीव क्षेत्रीले सहभागी विद्यालय तथा खेलाडीलाई बधाई दिँदै धन्यवाद ज्ञापन गरेका थिए । प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्र तथाबाहिरका गरी १०७ भन्दा बढी स्कुलका ३५ सय खेलाडीले सहभागिता जनाएका थिए ।