शक्ति स्थायी हुँदैन, विचार र नैतिकता अमर रहन्छ

गुरु केदार बराल     ०३ जेठ २०८३, आइतबार
शक्ति स्थायी हुँदैन, विचार र नैतिकता अमर रहन्छ

संसारमा शक्ति, सत्ता, पद र पैसा कहिल्यै स्थायी हुँदैनन् । समयसँगै मानिस बदलिन्छन्, शासन बदलिन्छ, सत्ता फेरिन्छ र शक्तिशाली कहलिएका व्यक्तिहरू पनि इतिहासका पानामा सीमित हुन्छन् । तर एउटा कुरा कहिल्यै समाप्त हुँदैन–असल विचार, नैतिकता र जनताको मनमा बसेको सम्मान ।

आजको संसारमा धेरै मानिस शक्ति र पावरलाई केवल पद, पैसा, प्रशासन वा नियन्त्रण गर्ने क्षमताको रूपमा बुझ्छन् । तर वास्तविक शक्ति त्यो होइन । कुर्सीमा बसेर आदेश दिनु सजिलो हुन सक्छ, तर जनताको मन जित्नु कठिन हुन्छ । डर देखाएर केही समय शासन गर्न सकिएला, तर विश्वास जितेर लामो समय सम्मान पाउन केवल नैतिक नेतृत्वले मात्र सक्छ ।

पावरले मानिसलाई दबाउन सक्छ, आवाज रोक्न सक्छ, अधिकार प्रयोग गर्न सक्छ । तर नैतिकताविहीन शक्ति धेरै समय टिक्दैन । इतिहासले देखाएको छ— जसले शक्ति दुरुपयोग गरे, उनीहरू केही समय चर्चामा रहे पनि अन्ततः जनताको मनबाट हराए । तर जसले सत्य, न्याय र मानवताको पक्षमा उभिए, उनीहरू आज पनि सम्मानका साथ सम्झिन्छन् ।

नैतिकता भनेको केवल राम्रो कुरा गर्नु मात्र होइन । नैतिकता भनेको जिम्मेवारी, इमानदारी, सत्यप्रतिको प्रतिबद्धता र पदमा बसेर पनि स्वार्थभन्दा माथि उठ्न सक्ने क्षमता हो । पदमा पुगेको व्यक्तिले यदि आफ्नो फाइदाभन्दा देश र जनताको हितलाई प्राथमिकता दिन्छ भने त्यो व्यक्ति केवल नेता होइन, प्रेरणा बन्छ ।

विश्व इतिहासमा धेरै उदाहरण छन् । नेल्सन मण्डलेसँग बदला लिने अवसर थियो, तर उनले मेलमिलापको बाटो रोजे । माहात्मा गन्धीसँग सैनिक शक्ति थिएन, तर सत्य र अहिंसाको शक्तिले संसारलाई झुकायो । अब्राम लिंकनले समानता र मानव अधिकारका लागि संघर्ष गरेर इतिहासमा आफ्नो नाम अमर बनाए ।

यी उदाहरणहरूले के देखाउँछन् भने वास्तविक शक्ति बन्दुक, पैसा वा कुर्सीमा हुँदैन । वास्तविक शक्ति विचारमा हुन्छ, नैतिकतामा हुन्छ, जनताको विश्वासमा हुन्छ ।

त्यसैले जीवनमा शक्ति खोज्नु अघि चरित्र निर्माण गर्न आवश्यक छ । पद पाउनु ठूलो कुरा होइन, पदमा बसेर इमानदारी कायम राख्नु ठूलो कुरा हो । किनकि शक्ति एकदिन समाप्त हुन्छ, तर असल कर्म, नैतिकता र जनताको मनमा बसेको सम्मान सधैं जीवित रहन्छ ।

प्रतिक्रिया