निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

राम्रो अनलाइन     १० मंसिर २०८२, बुधबार
निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

काठमाडौँ–निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थप्ने निर्णय गरेको छ ।

यसअघिको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि आजसम्मका लागि सो समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको आजको बैठकले चार दिन समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

मङ्सिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि १०६ वटा दलबाट निवेदन प्राप्त भएको जनाइएको छ । आयोगमा दर्ता कायम रहेका ठूलालगायत नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिइसकेका छन् । आयोगमा हालसम्म  दर्ता कायम रहेका दलहरुको सङ्ख्या १३७  रहेको आयोगले जनाएको छ । 

 यो निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा निर्वाचनको मिति आउन अब ९९ दिन बाँकी रहेको छ । 

यसैगरी आगामी ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरुले सो निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने अवधि मङ्सिर १ गतेदेखि ७ गतेसम्म तोकेकामा उक्त अवधिमा १३ वटा दलबाट निर्वाचन प्रयोजनका लागि निवेदन प्राप्त भएकोसमेत आयोगले जनाएको छ । 

प्रतिक्रिया