नेपालमा हरितमैत्री पर्यटन मापदण्डको वर्तमान अवस्था र कार्यदिशा सम्बन्धी कार्यशाला आयोजना हुँदै

राम्रो अनलाइन     १८ साउन २०८३, सोमबार
नेपालमा हरितमैत्री पर्यटन मापदण्डको वर्तमान अवस्था र कार्यदिशा सम्बन्धी कार्यशाला आयोजना हुँदै

काठमाडौं–विश्व हरितमैत्री पर्यटन क्षेत्र बढ्दो क्रममा रहेको छ । सन् २०२३ सम्म विश्व पर्यटन अर्थतन्त्रको हरितमैत्री अर्थतन्त्रले मात्रै ३०.७३ खर्ब रुपैयाँ ओगटिसकेको छ । जलवायु परिवर्तनको प्रभावलाई अनुकूलन तथा न्यूनीकरण गर्न र स्थानीय पर्यटनलाई सामाजिक न्यायतर्फ प्रवर्द्धन गराउन हरितमैत्री पर्यटन क्षेत्रले उल्लेख्य योगदान गर्दै आएको छ। हिन्दुकुश हिमालय क्षेत्रका आठ राष्ट्रहरू मध्ये नेपालमा पनि पर्यटन, हिमालय पर्यटन तथा वातावरणीय पर्यटनको प्रचुर अवसर छ । 

नेपाल राष्ट्र बैंकको आर्थिक तथ्याङ्क अनुसार औसत रूपमा कुल गार्हस्थ्य उत्पादनमा नेपालको पर्यटन क्षेत्रले २ प्रतिशत देखि ७ प्रतिशतसम्म योगदान दिँदै आएको छ । हरितमैत्री पर्यटन क्षेत्र, नेपालको लागि पनि प्रचुर सम्भावना, अवसर र चुनौतीहरूले भरिएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समग्र पर्यटन क्षेत्रको अभिभावक र प्रमुख नियमन निकायको रूपमा रहँदै आएको छ । साथै यस मन्त्रालयले होटल वर्गीकरण तथा मापदण्ड निर्धारण गर्नको लागि सो सम्बन्धी निर्देशक समिति गठन गरेको छ । 

यस होटल वर्गीकरण तथा मापदण्ड निर्धारण निर्देशक समितिलाई थप प्राविधिक तथा अन्य सहयोग गर्न हिमालयन युनिभर्सिटी कन्सोर्टियम (HUC) सचिवालय काठमाडौँ विश्वविद्यालयले सरकारी, होटल व्यवसायी तथा निजी क्षेत्रको सहभागितामा नेपालमा हरित पर्यटन मापदण्डको वर्तमान अवस्था र कार्यदिशा सम्बन्धी कार्यशाला आयोजना गर्न लागेको हो । 

गेट कलेजसँगको सहकार्यमा सो कार्यक्रम मिति २०८३ साउन १८ गते दिउँसो २:०० बजे देखि ५:३० सम्म आयोजना हुन लागेको छ । यस कार्यक्रमबाट नेपाल लगायत हिन्दुकुश हिमालय क्षेत्रका सरकारी, निजी, पर्यटन व्यवसायी, होटल व्यवसायी, सङ्घ तथा महासङ्घ र अन्य सरोकारवालाबाट आएका प्राविधिक तथा अन्य राय, सल्लाह र सुझावलाई समावेश गरी होटल वर्गीकरण तथा मापदण्ड निर्धारणलाई सहयोग पुग्ने गरी नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा अन्य सरोकारवालालाई विस्तृत प्रतिवेदन पेस गरिनेछ । 

नेपालको पर्यटन आगमन तथा विकास राष्ट्रिय विषयवस्तुमा मात्रै सीमित राख्नु भन्दा पनि क्षेत्रीय आर्थिक, सामाजिक र वातावरणीय विषयवस्तु हो भन्ने फराकिलो अवधारणा बनाउनु पर्ने आजको आवश्यकता रहेको छ। सोही अवधारणाबाट हरितमैत्री पर्यटन क्षेत्रका प्रचुर सम्भावनाको सदुपयोग हुने र दिगो विकास सम्भव हुनेछ । 

 

प्रतिक्रिया