मिति घोषणा भइसकेपछि निर्वाचनको विधि र प्रविधि परिवर्तन गर्न सम्भव हुँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

राम्रो अनलाइन     २९ पुस २०८२, मङ्गलबार
मिति घोषणा भइसकेपछि निर्वाचनको विधि र प्रविधि परिवर्तन गर्न सम्भव हुँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ–कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन गर्न नसकिने बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन प्रक्रिया पारदर्शी, विश्वसनीय र अन्तर्राष्ट्रिय मान्यताअनुसार हुनुपर्नेमा जोड दिए ।

दबाब, प्रभाव वा अस्वीकार्य प्रक्रियाबाट गरिएको निर्वाचनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको निर्वाचन निष्ठामाथि गम्भीर प्रश्न उठ्न सक्ने उनले बताए ।

निर्वाचनको मिति घोषणा भइसकेपछि प्रक्रिया र प्रविधि परिवर्तन गर्ने विषयमा निर्वाचन आयोग अत्यधिक दबाबमा परेको उल्लेख गर्दै उनले यस्तो अभ्यास अन्तर्राष्ट्रिय मान्यताविपरीत हुने स्पष्ट पारे ।

उनले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मान्यता नदिएको वा दबाब र प्रभावमा भएको निर्वाचन ठहर भएमा त्यसको प्रतिफल र विश्वसनीयतामाथि अन्तर्राष्ट्रिय समुदायमा प्रश्न उठ्ने बताए ।

हाल निर्वाचनको माहोल निर्माण भइसकेको र यही सन्दर्भमा आयोगले अभिमुखीकरण कार्यक्रममार्फत समस्या पहिचान र समाधानको प्रयास गरिरहेको उनको भनाइ थियो ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनका लागि आवश्यक स्रोत–साधन मुलुक भित्रकै उपलब्ध साधनको परिधिभित्र रहेर व्यवस्थापन भइरहेको जानकारी दिए ।

हाल कुनै विदेशी सहायता उपलब्ध नरहे पनि सरकारको स्रोत र शक्ति प्रयोग गरेर निर्वाचन गराइरहेको उनले बताए । निर्वाचनमा खटिने कर्मचारीको खाइपाई आएको तथा हालसम्म पाइरहेको सुविधा कटौती गरेर निर्वाचन गर्नुपर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे ।​

वैदेशिक सहायताबाट प्राप्त हुने सवारीसाधन उचित समयमा प्राप्त हुनेबित्तिकै आवश्यकता अनुसार निर्वाचन क्षेत्रमा वितरण गरिने उनले बताए।

आचारसंहिता अनुगमनको सन्दर्भमा विगतमा कोष तथा लेखा नियन्त्रण अधिकारीलाई सूक्ष्म अनुगमन अधिकारीका रूपमा खटाउँदा अपेक्षित परिणाम नआएको आयोगले पहिचान गरिसकेको र त्यसमा सुधारका लागि छलफल भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया