धर्म, संस्कृति र चाडपर्वका विषयलाई सरकारी संयन्त्रबाटै नियमन गर्न माग

राम्रो अनलाइन     २५ पुस २०८२, शुक्रबार
धर्म, संस्कृति र चाडपर्वका विषयलाई सरकारी संयन्त्रबाटै नियमन गर्न माग

काठमाडौँ– धर्म, संस्कृति र चाडपर्वका विषयलाई सरकारी संयन्त्रबाटै नियमित एवं व्यवस्थित गरेर शास्त्रीय आधारमा मर्यादित रुपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ । 

नेपाल ज्योतिष परिषद्को २८ औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले धर्म, संस्कृति र चाड पर्वका विषयलाई व्यवस्थित गर्न कानुनले व्यवस्था गरेबमोजिम काम भइरहेको बताए ।  

पात्रो प्रकाशनकै सिद्धान्त बदल्न पनि बृहत् छलफल गरेर अघि बढ्नुपर्ने पक्षमा आफू रहेको जानकारी उनले गराए । ‘केतकी गणना पद्धति आएको २०० वर्ष पनि भएको छैन, प्राचीनकालदेखि नै सूर्यसिद्धान्तका आधारमा पात्रोको गणना भएको छ, यस विषयमा व्यापक बहस आवश्यक छ’, अध्यक्ष ढकालले भने । 
 
परिषद्का संस्थापक अध्यक्ष लोकराज पौडेलले समितिका यसअघिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका पालामा सात ग्रह केतकी गणना पद्धतिका आधारमा पञ्चाङ्गमा राखिएको उल्लेख गर्दै बाँकी दुई ग्रहलाई पनि त्यसैअनुसार व्यवस्थित गरिनुपर्नेमा जोड दिए । आकाशमा एउटा ग्रह अवस्था र पात्रोमा अर्को अवस्था देखिन नहुने उनको भनाइ थियो ।

समितिका पूर्वअध्यक्ष अधिकारीले नेपाल र भारतको देशान्तर एवं अक्षांश नै फरक हुने भएकाले त्यसका आधारमा गणित गर्दा तिथिमिति तथा चाडपर्वमा एक दिन यताउता हुनसक्ने बताए । नेपाल र भारतमा वेदका शाखा, सूत्र पनि फरक मानिने गरेकाले त्यसका आधारमा पनि चाडपर्वमा फरक पर्ने उनको भनाइ थियो ।

समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले विसं २०८३ को पात्रोमा राखिने नेवारी समुदायका चाडपर्वको निर्णय गर्न आज सो समुदायका सरोकार भएकासँग छलफल गर्न लागिएको जानकारी दिए । नेवारी समुदायको चाडपर्व एवं तिथि मितिकाबारेमा जानकार विज्ञलाई पनि आजको छलफल कार्यक्रममा बोलाइएको पनि उनले सुनाए । 

समितिका पूर्वकार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आकाशसँग नमिल्ने पात्रोको धर्मशास्त्रविद्ले विरोध गर्नुपर्ने बताए । आकाशसँग नमिल्ने पात्रोका आधारमा चाडपर्व र तिथि मिति मनाउँदा त्यसको फल नपाइने भएकाले धर्मशास्त्रविद्ले यसको विरोध गर्नुपर्ने उनको भनाइ थियो ।
 
कार्यक्रममा वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक डा पुरुषोत्तम भट्टराईले पात्रो गणना विधि एवं ज्योतिष विषयमा थाहा नभएकाले पनि गणना पद्धतिका बारेमा सामाजिक सञ्जालमा लेख्ने गरेको उल्लेख गर्नुहुँदै त्यस विषयमा जानकारी नभएकाले लेखेको कुरा पढेर आममानिसलाई भ्रम हुने गरेको बताउनुभयो । यस्तो क्रमलाई रोक्न लाग्नुपर्ने उनको भनाइ थियो ।
 
समितिका सदस्यद्वय प्रा डा देवमणि भट्टराई र रतिदेवी जोशी श्रेष्ठ, वाल्मीकि विद्यापीठका उपप्राध्यापक शान्तरत्न बज्राचार्यलगायतले ज्योतिष क्षेत्रलाई थप व्यवस्थित गर्न सरकारी निकायले नियमन गर्नुपर्नेमा जोड दिए । कालाग्नि रुद्र भगवान् लड्केश्वर धाम काभ्रेपलाञ्चोकका पीठाधीश मुकुन्द शर्मा हुमागाईंले आकाशमा ग्रह जुन अवस्थामा छन्, त्यसैअनुरुपको पात्रो (पञ्चाङ्ग) गणनाका लागि नेपालमा वेधशालाको स्थापना गरिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि अर्बौं रुपैयाँ लाग्ने भए पनि सहयोग जुटाउन लागिपर्ने सङ्कल्प गर्न आफू तयार रहेको घोषणा गरे । 
                

प्रतिक्रिया