चोरी गरेको ६५ लाख रकमसहित दाङबाट २४ वर्षीय युवक पक्राउ

राम्रो अनलाइन     १५ पुस २०८२, मङ्गलबार

दाङ – दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चोरी गरेको ६५ लाख १७ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो । केसी सोमबार राति मात्र काठमाडौंबाट घर फर्किएका हुन् ।

उनले चोरी गरिरहेको सीसीटीभी फुटेज कैदका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

काठमाडौंको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी गरिरहेको सीसीटीभी फुटेज प्रहरीलाई प्राप्त भएपछि प्रहरीले निजको घर यकिन गरी रातभर निगरानी गरेको थियो ।

केसीलाई मंगलबार सो रकमसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका केसीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया