‘बा : एक योद्धा’ को प्रिमियर

राम्रो अनलाइन     ०८ असोज २०८३, बिहिबार
‘बा : एक योद्धा’ को प्रिमियर

काठमाडौं–शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बा स् एक योद्धा’को मंगलबार साँझ काठमाडौंमा प्रिमियर भएको छ । क्युएफएक्स सिभिल महलमा आयोजित प्रिमिएरमा चलचित्रकर्मी, कलाकार, संगीतकर्मी तथा पत्रकारहरूको बाक्लो उपसिथ्ती रहेको थियो । नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रिमिएरबाट सकारात्मक प्रतिक्रिया पाएपछि काठमाडौमा पनि प्रिमिएर गरिएके हो ।

प्रिमियरमा सहभागी धेरैले चलचित्रको कथा सबैको परिवारसँग जोडिन सक्ने बताए । विशेषगरी आफ्नै सन्तानबाट बुवाआमाले भोग्नुपर्ने अपमान, बेवास्ता र पीडालाई पर्दामा प्रस्तुत गरिएकाले दर्शकले यसलाई आफ्नै घरको कथाका रूपमा महसुस गर्न सक्ने प्रतिक्रिया दिए ।

चलचित्र हेरेपछि अभिनेता हरिवंश आचार्यले आफू भावुक बनेको बताए । उनले चलचित्रले वर्तमान समाजमा युवाहरूको बढ्दो अपेक्षा र पलायनसँगै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई प्रस्तुत गरेको बताए । उनका अनुसार आफूले भोगेको बुवाको समय र चलचित्रको परिवेश फरक भए पनि अहिलेको आधुनिक समाजको वास्तविकतासँग चलचित्रको कथा नजिक छ ।

पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले ‘बा : एक योद्धा’लाई उत्कृष्ट चलचित्रका रूपमा व्याख्या गरे । उनले चलचित्रको कथावस्तु, प्रस्तुति र सन्देश तीनवटै पक्ष आफूलाई प्रभावकारी लागेको बताए । उनका अनुसार चलचित्रले अहिलेको समाजमा बढ्दै गएको स्वार्थ र त्यसले पारिवारिक सम्बन्धमा पारिरहेको असरलाई देखाएको छ ।

अभिनेत्री ऋचा शर्माले चलचित्रलाई एकदमै मिठो रहेको प्रतिक्रिया दिइन् । उनले अभिनेत्री झरना थापाको अभिनयको प्रशंसा गर्दै सुहाना थापामा पनि अभिनयको निखार क्रमशः बढ्दै गएको बताइन् ।

अभिनेत्री पुष्पा थिङ लामाले पनि ‘बा ः एक योद्धा’ले आफूलाई भावुक बनाएको बताइन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ । चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो । वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन् । शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।

प्रतिक्रिया